सिलगढी, ७ मई (निसं) ५ मईको दिन किराँती खम्बू राई सांस्कृतिक संस्थान बाघडङ्ग्रा एम एम तराईद्वारा उभौली पूजा (साकेला) माङ्गखिम परिसर एम एम तराईमा बढो हषोल्लासको साथ पालन गरिएको छ। किराँती खम्बू राईहरू गोर्खा जातिको उपजाति प्राकृतिक पूजक जनजाति हुनाले प्रकृति पूजा, कूल पूजा, खोक्लिहाङ्गमा पूजा, सेउली पूजा, खोला पूजा साथै सिकारी पूजा सिली नाच्दै सम्पन्न गरियो।
यस अवसरमा किरात राई जाति लगायत अन्य जनगोष्ठी लिम्बू ट्राइबल वेल्फेयर सोसाइटी, मगर समाज भारत बाघडग्रा शाखा, पानी ट्याङ्की राई सेवा समिति, यलमबरहाङ्ग किराँती खम्बू राई सांस्कृतिक संस्थान बाघड्ग्रा, एम एम तराईका कलाकारहरूले रङ्गारङ्ग सांस्कृतिक कार्यक्रमको प्रस्तुति दिएर दर्शकहरूलाई मनोरञ्जन गराए। कार्यक्रममा सांस्कृतिक टोलीको साथै अन्य धेरै जनगोष्ठीका मानिसहरूको उपस्थिति रहेको थियो साथै दार्जी लिङ, खर्साङ, सिलगढी, मिरिक, मङ्पू, कालेबुङ, सिक्किम, मेघालय, शिलोङ, इन्दोर (मध्य प्रदेश) बाट राई जनगोष्ठीका प्रतिनप्रतिनिधहरूको पनि उपस्थिति रहेको थियो। यसरी राईहरूबाहेक अन्य जन समुदायको भेला साथै सांस्कृतिक कार्यक्रम गर्नुको मुख्य उद्देश्य सबैमा भाइचाराको सन्देश फैलाउनु हो।
किराँती खम्बू राईहरूको पुर्खाहरू आदिम कालदेखि मध्य हिमालयको पहाडी क्षेत्रमा बसोवास गर्ने प्राचीन जनजाति हुन्। किराँत राजा यलम्बरले
स्थापना गरेका किरात राज्य आधुनिक नेपालको त्रिशुली नदी पूर्व, आधुनिक भारतको टिस्टा सुनकोशसम्म फैलिएको थियो भन्ने किराँती इतिहासमा पढ्न पाइन्छ। त्यसैले आधुनिक देश भारत-नेपालको सिमाना कोरिनु अघिदेखि किराँत राई जातिको बसोवास स्थल उत्तर पूर्वी भारतको सिलगढी,
दार्जीलिङ, सिक्किम, आसाम, मणिपुरदेखि भूटान, बर्मासम्म रहेको पाइन्छ। तसर्थ किराँती राई यस क्षेत्रका रैथाने जनजाति मध्य एक हो।
किराँत धर्मअन्तर्गत आदिमकालदेखि किराँती पुर्खाहरूले मनाउँदै आएकोपरम्परगत साकेला पर्व उभौली किराँत राईहरूको सबैभन्दा ठूलो पर्व
हो।
पारुहाङ्ग सुम्निमा (शिव- पार्वती ) इष्ट देवता हुन्। प्राकृतिक पूजक किराँत खम्बू राईहरू शिली नृत्य गरी उभौली-उधौली वर्षमा दुईपटक भूमि
तथा कूल पूजा मनाउने गर्छन्। उभौली बैशाख पूर्णिमा र उधौली मङ्सिरे पूर्णिमामा पर्दछ। उभौली खेती लगाउने समय आयो भनी प्रकृति-भूमि तथा कूल पूजा ढोल झ्याम्टा बजाउँदै शिली नाच्दै प्रकृतिको पूजा गरिन्छ। यति बेला गर्मीदेखि बाच्न सबै चरा चुरुङ्गी, जानवारहरू हिमाल चढ्ने सङ्केत मानिन्छ। किराँती पुर्खाहरू कृषिमा निर्भर भएको कारण नया अन्नबाली राम्रो फलोस फुलोस्, प्राकृतिक प्रकोप भल पैह्रो नलागोस साथै सबै मानव समाजको कल्याण होस भनी प्रकृति पूजा गरी बल विन्ती माग्ने चलन छ। यसै प्रथालाई यथावत राख्न उभौली पूजा गरिन्छ।